
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले श्रम तथा परराष्ट्र मन्त्रालयलाई निष्क्रिय रहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारमा रहेका नेपाली युवाहरू संकटमा पर्दा पनि सरकार मौन बसेकोप्रति आपत्ति जनाए।
सांसद शाहीले हालसम्म झण्डै ८० लाख नेपाली विदेशमा कार्यरत रहेको उल्लेख गर्दै विश्वका प्रायः सबै देशमा नेपालीहरू पुगेको बताए। यद्यपि विदेशमा बन्धक बनेका वा युद्धमा ज्यान गुमाएका नेपालीहरूको सुरक्षाबारे मन्त्रालयहरूले कुनै ठोस कदम नचालेको आरोप लगाए।
“भारत–पाकिस्तान, रुस–युक्रेन, प्यालेस्टाइन–इजरायलजस्ता युद्धहरूमा नेपालीहरूले ज्यान गुमाउनु परेको छ, तर सरकार मौन छ,” उनले भने। यस्तो परिस्थितिमा श्रम तथा परराष्ट्र मन्त्रालयको अस्तित्वमाथि नै प्रश्न उठेको शाहीको तर्क छ।
उनले वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सकै भरमा सरकारका तलब–भत्ता चलेको उल्लेख गर्दै मन्त्रालयहरूले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने आवश्यकता औँल्याए। “विदेशमा बसेकाहरूको कमाइबाट सांसद, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैले तलब पाइरहेका छन्, अब नुनको सोझो गर्नु पर्दैन?” शाहीले प्रश्न गरे।
सांसद शाहीले वैदेशिक रोजगारीका क्रममा नेपालीहरू ठगीमा परिरहेको, मृत्युवरण गरिरहेको र बन्धक बनिएको अवस्थामा राज्यले चासो नदेखाएको भन्दै मन्त्रालयहरूको भूमिकामाथि पुनरावलोकन गर्नुपर्ने धारणा राखे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे