
ललितपुर। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुरले आफ्नो ९औं बार्षिक साधारण सभा नगरकोटको माउन्टेन भिष्टा होटलमा आयोजना गरेको छ। उक्त कार्यक्रम ललितपुर इक्यानका पदाधिकारीहरू, इक्यान केन्द्रिय समितिका पदाधिकारीहरू, अन्य शाखा र सहयोगी संस्थाका प्रतिनिधिहरू, तथा मिडियाका सदस्यहरूको बाक्लो उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रमको शुरुआत सभापति तथा ललितपुर इक्यानका अध्यक्ष अरविन्द सिंह, इक्यान केन्द्रिय उपाध्यक्ष गिताञ्जली सिवाकोटी र बहुचर्चित गायक एम बरालले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए।
कार्यक्रमका क्रममा ललितपुर इक्यानका उपाध्यक्ष बिरेन्द्र बज्राचार्यले उपस्थित सबैलाई स्वागत गर्दै ९औं साधारण सभाको सफलता सुनिश्चित गर्नका लागि गरेको योगदानको कदर गरे। ललितपुर इक्यानका पूर्व अध्यक्ष सुरेन्द्र पोख्रेल र निवर्तमान अध्यक्ष उपेन्द्र देव ढकालले इक्यानको विविध गतिविधिहरूको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
इक्यान केन्द्रिय महासचिव दिपकराज भुसालले ललितपुर इक्यानसँगको सहकार्यलाई सकारात्मक रुपमा मूल्याङ्कन गर्दै नजिकको भविष्यमा प्रगति र नयाँ सदस्यहरूको संख्या वृद्धि हुने आशा व्यक्त गरे।
कार्यक्रममा इक्यान केन्द्रिय समितिका सल्लाहकार द्वय बिष्णु पोख्रेल र डील्ली राज धितालले ललितपुर इक्यानका क्रियाकलापहरूको सृजनात्मकता र शाखाको उच्च प्रतिष्ठालाई प्रोत्साहन दिने महत्वपूर्ण योगदानको सराहना गरे। इक्यान पूर्वाञ्चलका सल्लाहकार कमल तिमल्सिनाले पनि ललितपुर इक्यानको ९औं साधारण सभाको सफलतामा खुशी व्यक्त गर्दै शाखा-शाखाबीचको सहकार्यको महत्त्वमा जोड दिए।
कार्यक्रममा सेभेन स्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सका बिष्णु प्रसाद कडेल र नोजोमी पोलिक्लिनिकका सुदर्शन कार्कीले आफ्नो संस्थाका तर्फबाट ललितपुर इक्यानसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नयाँ सदस्यता प्राप्त गरेका ११ जना सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, उपस्थित सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरियो।
अन्तमा, संस्थाका अध्यक्ष अरविन्द सिंहले धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गरे। कार्यक्रमको संचालन ललितपुर इक्यानका सचिव सनम महर्जनले गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे