
सल्लाघारी, भक्तपुरस्थित श्री सैनिक आवासीय महाविद्यालयको ४७ औँ वार्षिकोत्सव समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा खेलकुद, सांस्कृतिक प्रस्तुतिहरू, विज्ञान प्रदर्शनी र सम्मान वितरणलगायत विविध गतिविधिहरू समेटिएका थिए।
समारोहको पहिलो चरणमा प्रमुख अतिथि नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले महाविद्यालयका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको विज्ञान प्रदर्शनीको अवलोकन गरेका थिए। उनले प्रदर्शनीमा प्रस्तुत सामग्रीहरूका विषयमा जानकारी लिँदै विद्यार्थीहरूको सिर्जनशीलताको प्रशंसा गरेका थिए।
दोस्रो चरणमा विद्यार्थीहरूले विभिन्न खेलकुदका साथै सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा दीर्घ सेवा गरेका शिक्षक तथा उत्कृष्ट शिक्षकलाई कदरपत्र प्रदान गर्नुका साथै शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार र छात्रवृत्ति वितरण गरिएको थियो।
समारोहकै अवसरमा महाविद्यालयको वार्षिक मुखपत्र सल्लाघारी को ३३ औँ अङ्कको लोकार्पण गरिएको थियो। प्रमुख अतिथिले महाविद्यालयले शिक्षा र खेलकुदमा गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा थप उन्नति गर्न शुभकामना व्यक्त गरेका थिए।
महाविद्यालयका प्राचार्य दल प्रसाद पुनले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख व्यवस्थापक महासेनानी अशोक बहादुर चन्दले कार्यक्रममा सहभागी अतिथिहरू, अभिभावकहरू र अन्य उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
समारोहमा बलाध्यक्ष रथी प्रदिप जंग के.सी., भक्तपुर नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न विद्यालयका प्राचार्य, पूर्वप्राचार्य, तथा पूर्वविद्यार्थीहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे