
विराटनगर , १५ पुस । प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका छन् ।नेता थापा नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिसमेत हुनुहुन्छ । निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो ।
निर्वाचनपछि दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । उहाँले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गर्नुभयो । रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे