
काठमाडौं, १९ जेठ – राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार राति प्रहरी हिरासतबाट रिहा भएका छन्। रिहा भएपछि थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकप्रति व्यंग्यात्मक धन्यवाद दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।”
थापाले आफूहरूले निषेधित क्षेत्र नतोडेको दाबी गर्दै लेखेका छन्, “हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ।” उनले दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको अभियान अझ सुदृढ बनेको बताएका छन्।
आइतबार दिउँसो राप्रपा नेपालले राजसंस्थाको समर्थनमा प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा अध्यक्ष थापा, सांसद दीपक सिंहसहित ८ जनालाई प्रहरीले नारायणचौरबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार थापा, सिंहसहित ७ जनालाई आइतबार राति जिम्मा जमानीमा रिहा गरिएको हो। भने एकजना डा. राजीव झालाई रक्सी सेवन गरेर अश्लील शब्द प्रयोग गरेको भन्दै हिरासतमै राखिएको छ।
थापाको रिहापछि राजावादी समूहले घोषणा गरेको उपत्यका बन्द पनि फिर्ता लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे