
काठमाडौँ, साउन ९ – थाइल्याण्ड र कम्बोडियाबीच सीमावर्ती क्षेत्रमा जारी झडप दोस्रो दिनमा प्रवेश गर्दा अवस्था चिन्ताजनक बनेको छ। थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले यो सीमापार झडप एक विनाशकारी युद्धमा परिणत हुनसक्ने चेतावनी दिएका छन्।
एक शताब्दीभन्दा पुरानो सीमा विवादले चर्को रूप लिँदा हालसम्म १ लाख ३० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। थाइल्याण्डको उबोन रत्चाथानी र सुरिन प्रान्तथा कम्बोडियाको ओड्डार मिन्चे प्रान्तबाट हजारौं मानिसहरू सुरक्षित स्थानतर्फ सारिएका छन्।
थाइल्याण्डले हालसम्म १४ नागरिक र एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ भने कम्बोडियाले पनि एक जनाको ज्यान गएको जनाएको छ। घाइतेहरूको संख्या दर्जनौंमा पुगेको छ।
यसबीच, आसियान अध्यक्ष तथा मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले दुवै देशलाई युद्धविरामको लागि अपील गरेका छन्। उनले बैंकक र नोम पेन्हबाट आएको सकारात्मक संकेतको स्वागत गर्दै शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।
युद्धपीडितहरूको बासका लागि खेलकुद परिसरहरूलाई अस्थायी निकासी केन्द्र बनाइएको छ, जहाँ धेरैजसो बालबालिका र वृद्ध छन्। उनीहरू अझै पनि रकेट तथा तोप आक्रमणको डरमा बाँचिरहेका छन्। १९८० को दशकको गृहयुद्ध बाँचेकाहरूका अनुसार हालको लडाइँ उनीहरूले देखेको सबैभन्दा भयावह रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे