काठमाडौंका इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार र लगनखेलमा तिजको किनमेल गर्ने महिलाको भीड बाक्लो देखिन्छ। व्यापारीहरु पनि चाडपर्व लक्षित सामान बिक्री गर्न व्यस्त छन्।
व्यापारीहरुका अनुसार तिजसँगै विवाह सिजनमा पनि चुरा–पोते, तिलहरी र साडीको माग उच्च रहने गरेको छ। इन्द्रचोकमा ४५ वर्षदेखि पोते व्यवसाय गर्दै आएका अलिम मुदिमका अनुसार, अहिले ग्राहकको मागअनुसार विशेष डिजाइन टिकटक ट्रेण्डसँगै तयार गरिन्छ। उनका अनुसार, बिहे र तिज दुवै सिजनमा माग उल्लेख्य हुन्छ।
त्यस्तै, अर्को व्यापारी महमद् मन्सुरले चीनबाट आयात हुने चुरा–पोते र युरोपबाट आउने केही विशेष आइटम बजारमा लोकप्रिय रहेको बताए। उनले एक पोतेको मूल्य न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म पर्ने बताए।
४० वर्षदेखि न्यूरोडमा चुरा तथा कस्मेटिक सामग्री व्यापार गर्दै आएकी पुर्णिमा दर्शनले पनि तिजमा व्यापार फस्टाउने बताइन्। उनका अनुसार, चुरा ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका मूल्यमा बिक्री हुने गरेका छन् भने तिलहरी, धागो र टिका चाडपर्वमा बढी माग हुने गर्छ।
व्यापारीहरुको अनुभवअनुसार, तिजले बजारमा मात्र होइन, नेपालको धार्मिक र सांस्कृतिक जीवनमा पनि विशेष महत्व बोकेको छ। महिलाहरु चुरा–पोते लगाएर श्रृंगारिएर व्रत बसेपछि मनोकामना पूरा हुने विश्वास गरिन्छ। यसले गर्दा तिजमा चुरा–पोते र श्रृंगार सामग्रीको व्यापार वर्षैभरि भन्दा बढी हुने गरेको छ।








