
महोत्तरी, ६ सेप्टेम्बर – भदौ शुक्ल तृतीया तिथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एउटै दिनमा परेको छ। यस वर्षको तीज पर्वमा महिलाहरू बिहीबार राति ‘दर’ खाएर आज निराहार व्रतमा रहेका छन्। यस्तै, चौथी तिथिको चन्द्रोदय पनि आज साँझ पर्ने भएकाले मिथिलामा चौरचन पर्व पनि आजै मनाइने छ।
चौरचन पर्वमा आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोले बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गरिन्छ। वर्तालुहरू दिनभरि निराहार व्रत बसेर चौथीका चन्द्रमालाई खिर, पुरी, दही र अन्य मिष्टान्न परिकार देखाउँछन्। चन्द्रदर्शनपछि परिवारजनसहित चतुष्कोण यज्ञस्थलमा बसेर प्रसाद ग्रहण गर्ने परम्परा छ।
मिथिलामा भाद्र शुक्ल चौथीको चन्द्र दर्शन दोषपूर्ण मानिन्छ। यस दोषलाई मेटाउन वर्तालुहरूले दिनभरि निराहार व्रत बसेर साँझ चन्द्रमालाई मिष्टान्न परिकार र फलफूल देखाएर पूजा गर्ने प्रचलन छ। चौरचन पर्व मिथिलामा मुख्य पर्व मानिन्छ, र यो व्रत पुरुष र महिला दुवैले गर्न सक्ने विधान भए पनि सामान्यतः महिलाहरूले यो व्रत बस्ने गर्छन्।
आगामी दिनहरूमा चन्द्रदर्शनले झुठो अवगाल नगर्ने, मित्रवृन्द बढाउने, चन्द्रमाको कृपाले कान्ति बढाउने र जीवनमा सुख शान्ति प्राप्त हुने विश्वास गरिएको छ। द्वापर युगमा श्रीकृष्णले चन्द्रव्रत गरेर मणि प्राप्त गरेपछि चौरचन पर्वको परंपरा सुरु भएको विश्वास गरिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे