
काठमाडौं । राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार मात्र सर्पदंशका कारण नौ जना बिरामी आकस्मिक कक्षमा भर्ना भएका छन्। अस्पतालले पछिल्ला केही हप्तादेखि सर्पदंशका बिरामीको संख्या उच्च हुँदै गएको जनाएको छ।
“सर्पदंश अहिलेको अवस्था अनुसार हामीले सामना गरिरहेका सबैभन्दा गम्भीर र नियमित स्वास्थ्य समस्यामध्ये एक हो,” अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार हाल अस्पतालमा भर्ना हुने कुल आकस्मिक बिरामीमध्ये सर्पदंश पीडितको संख्या सबैभन्दा धेरै रहेको छ।
डाक्टरहरूको भनाइमा तीमध्ये केही बिरामीको अवस्था गम्भीर रहेकाले अस्पतालमै भर्ना गरेर निरन्तर निगरानीमा राखिएको छ भने केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ।
सर्पदंश भएका बिरामीको सामाजिक पृष्ठभूमिको अध्ययन गर्दा अधिकांश किसान पृष्ठभूमिका रहेको देखिएको छ। चिकित्सकहरूका अनुसार धान रोपाइँ, गहुँ काट्ने, वा चौपायाका लागि घाँस र दाउरा संकलन गर्दा किसान सर्पको सम्पर्कमा आउने गर्छन्। यसै क्रममा घाँस वा झाडीमा खेल्ने क्रममा केही बालबालिका पनि सर्पदंशको शिकार हुने गरेका छन्।
चिकित्सकहरूले सर्पदंशको जोखिम उच्च हुने स्थानमा काम गर्ने व्यक्तिहरूलाई सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेका छन्। साथै, सर्पले टोकेको खण्डमा तत्काल अस्पताल पुग्नुपर्ने र घरेलु उपचारमा समय नगुमाउन समेत सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे