
काठमाडौं। प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्तिविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रिट दायरकर्ताले कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर माग गरेका छन्।
सुनुवाइको पेसी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा संवैधानिक इजलासमा तोकिएको छ। सो इजलासमा न्यायाधीशहरू सारंगा सुवेदी, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको पनि सहभागिता रहनेछ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
तर, अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले रिट दायर गर्दै उक्त नियुक्ति संविधानको धारा ७६ विपरीत रहेको र पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्न नपाइने उल्लेख गरेका छन्। रिटमा राष्ट्रपति, नेपाली सेना, प्रमुख राजनीतिक दलहरूलाई समेत विपक्षी बनाइएको छ।
कानुनी विशेषज्ञहरूले यो मुद्दा नेपालको संवैधानिक प्रक्रिया र प्रधानमन्त्रीको योग्यता सम्बन्धमा महत्वपूर्ण नजीर स्थापनाको संकेत गर्ने बताएका छन्। रिटको सुनुवाइले नेपालको संवैधानिक संरचना र कार्यपालिका नियुक्तिको प्रक्रिया सम्बन्धी विवादास्पद विषयमा स्पष्ट मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे