
एजेन्सी — युद्धले थिलोथिलो बनेको सुडानमा हैजा र अन्य घातक रोगहरू तीव्र गतिमा फैलिन थालेपछि देश गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गरिरहेको अन्तर्राष्ट्रिय उद्धार समितिले चेतावनी दिएको छ।
सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार, केवल एक साताभित्र हैजा संक्रमणका कारण १७२ जनाको ज्यान गइसकेको छ, जसमा अधिकांश नयाँ संक्रमितहरू खार्तुम राज्यमा छन्। स्थानीय चिकित्सकहरूको भनाइमा, युद्धका क्रममा भएका ड्रोन आक्रमणले पानी शुद्धीकरण केन्द्रहरूमा विद्युत आपूर्ति बन्द गरिदिएपछि मानिसहरू अशुद्ध पानी पिउन बाध्य भएका छन्, जसले हैजा फैलिन झनै बढावा दिएको छ।
राजधानी खार्तुम, डार्फुर क्षेत्र र नाइल नदी आसपासका क्षेत्रमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ। हजारौं मानिस संक्रमित भइसकेका छन् र अस्पतालहरूमा उपचारका लागि भीड बढ्दो छ।
स्थानीय स्वास्थ्य निकायहरूले सुरक्षित खानेपानी, जनचेतनामूलक कार्यक्रम र आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) ले सुडानलाई स्वास्थ्य आपतकालीन क्षेत्र घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरेको छ। जनसंख्या विस्थापन, कमजोर सरसफाइ, र औषधिको अभावले हैजा महामारी थप गम्भीर बन्ने चेतावनी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे