
धुलिखेल । अमेरिकाको जोन्स हप्किन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थ, बाल्टिमोरका विज्ञहरूको एक प्रतिनिधिमण्डलले आज धुलिखेल अस्पतालको भ्रमण सम्पन्न गरेको छ। स्वास्थ्य सेवा, अनुसन्धान र शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्पन्न भएको यस भ्रमणले दुवै संस्थाबीचको अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ।
प्रतिनिधिमण्डलमा ग्लोबल डिजिज एपिडेमियोलोजी विभागका डा. ड्यानियल जे. एरचिक र डा. छिरिङ लामा सहभागी थिए। उनीहरूले अस्पतालका विभिन्न कार्यक्रम, स्वास्थ्य सेवा र अनुसन्धान गतिविधिहरूको अवलोकन गर्दै आपसी अनुभव साटासाट गरेका थिए।
भ्रमणका क्रममा अन्तर्राष्ट्रिय साझेदारीले दुवै देशका स्वास्थ्य प्रणाली सुदृढ गर्न सक्ने विश्वास व्यक्त गरिएको थियो। ज्ञान र अनुभवको आदान–प्रदानबाट स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रहरूमा दीर्घकालीन सुधार ल्याउन सकिने आशा गरिएको छ।
धुलिखेल अस्पतालले स्थानीय समुदायमुखी सेवामा आफूलाई रूपान्तरण गरिरहेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सहकार्यहरू उपयोगी सावित हुने बताइएको छ। अस्पतालले गुणस्तरीय, सर्वसुलभ र समान पहुँचयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिइएको छ।
यस किसिमको क्रस-बोर्डर सहकार्यले नेपाली स्वास्थ्य प्रणालीमा नवीनतम ज्ञान र प्रविधि भित्र्याउने, जनशक्ति विकास गर्ने र दीगो सुधार ल्याउने महत्वपूर्ण अवसर प्रदान गर्ने विज्ञहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे