
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनामा सरकारको ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गर्दै विपद्मा परी एक सय जनाभन्दा बढीले ज्यान गुमाएको, ठूलो सङ्ख्यामा नागरिक बेपत्ता र घाइते भएको तथा हजारौँ मानिस घरबारविहीन भएको जानकारी दिएका छन्। सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै उनले राष्ट्र र जनताले भोग्नुपरेको यो पीडामा गहिरो दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
“अहिले पनि धेरै नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु र घरबारविहीनलाई सुरक्षित राख्दै पुनःस्थापनाको काम थाल्नु सरकारको पहिलो कर्तव्य हो,” अध्यक्ष दाहालले भने। साथै, उनले मुख्य राजमार्ग र अन्य पूर्वाधार क्षतिग्रस्त भएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारलाई आह्वान गरेका छन्। दसैँतिहार पर्व नजिकिएकाले आधारभूत सेवाहरू छिटो पुनः सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष दाहालले आफ्नो पार्टीका नेता, कार्यकर्ता उद्धार र पुनःस्थापनाको काममा सक्रिय रहेको उल्लेख गर्दै बेपत्ता नागरिकको खोजी र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लाग्न निर्देशन पनि दिएका छन्।
यसैबीच, अध्यक्ष दाहालले आह्वान गरेको सर्वदलीय बैठक रद्द भएको उनको सचिवालयले जनाएको छ। सरकारले यसअघि नै सर्वदलीय बैठक आह्वान गरिसकेकाले सोही प्रकृतिको बैठकको सान्दर्भिकता नभएकाले दाहालको बैठक रद्द गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे