
काठमाडौँ– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी आज देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। यस दिन विद्या र बुद्धिकी देवी सरस्वतीको पूजा गर्ने परम्परा छ। सरस्वतीको पूजा गरे पढाइमा मन लाग्ने, बुद्धि बढ्ने र ज्ञान प्राप्त हुने जनविश्वास रहिआएको छ।
आज देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विशेषगरी विद्यार्थी, शिक्षक, कलाकार, लेखक र पत्रकारहरूले देवी सरस्वतीको पूजा गर्दै कलम, कापी, पुस्तक, वाद्ययन्त्रजस्ता आफ्ना कामसँग सम्बन्धित सामग्री चढाउने गर्छन्। विद्यालय नजाने साना बालबालिकालाई आजकै दिन अक्षर लेख्न सिकाउने चलन पनि छ, जसलाई अक्षरारम्भ भनिन्छ।
सरस्वतीलाई सेतो वर्ण, हातमा वीणा र पुस्तक बोकेको देवीका रूपमा चित्रण गरिन्छ। उनलाई शारदा, भारती, वागीश्वरीलगायत विभिन्न नामले पुकारिन्छ। धार्मिक ग्रन्थअनुसार आजको दिन सरस्वतीको पूजा गरी पढाइ सुरु गरे सफलता मिल्ने विश्वास छ।
आजलाई वसन्त ऋतु सुरु हुने दिनका रूपमा पनि लिइन्छ। यस दिन विवाह, व्रतबन्धजस्ता काम गर्न साइत हेर्न नपर्ने मान्यता भए पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता कार्य गरिँदैनन्। स्वयम्भू, मैतीदेवी, नीलसरस्वतीलगायत मन्दिरमा आज विशेष चहलपहल देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे