
काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं १० देवीनगरस्थित धोबीखोला करिडोरको अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता लिएर ‘स्पोर्ट्स पार्क’ निर्माण गर्ने योजना अघि बढाएको छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा फिर्ता लिएर वडा १० देवीनगरमा ‘स्पोर्ट्स पार्क’ बनाउन थालेको छ। धोबीखोलाको करिडोरमा रहेको ५ रोपनी १० आना २ दाम जग्गा व्यक्तिगत प्रयोगमा रहेको पत्ता लागेपछि २०८० साउन ४ गते महानगर प्रहरीले अतिक्रमण हटाएको थियो। पूर्वमन्त्री भद्रकुमारी घलेले पनि आफू बसेको संरचना हटाउन सहयोग गरेकी थिइन्।
करिब १ करोड ९० लाख लागतको यो पार्क बनाउन कार्तिक १८ गते कार्यादेश दिइएको छ, र २०८३ कार्तिक १८ सम्म निर्माण सक्ने लक्ष्य छ। पार्कमा खुला जिम, ब्याडमिन्टन कोर्ट, फुटसल मैदान, छुट्टाछुट्टै शौचालय, हरियाली क्षेत्र, १६३ विरुवा र मौसमी फूल रहनेछन्।
सम्पूर्ण निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर र आसपासका स्थानीयले व्यायाम, खेलकुद र मनोरञ्जनका लागि सुविधायुक्त स्थान पाउनेछन्। महानगरले अहिलेसम्म १७१ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे