
काठमाडौं – नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (NAAMII) ले दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम, एनुअल नेपाल एआई स्कूल (ANAIS), यस वर्ष पुस १२ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ। यो कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल इन्टेलिजेन्सका आधारभूत र कार्यान्वयन पक्षमा केन्द्रित रहनेछ।
NAAMII का अनुसार, ANAIS ले आधारभूतदेखि आधुनिक विधि र अनुप्रयोगहरूलाई समेट्नेछ। ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा आयोजना हुने ११ दिने यस कार्यक्रममा देशविदेशका २०० भन्दा बढी स्नातक, स्नातकोत्तर, पीएचडी विद्यार्थीहरू र एआई क्षेत्रका पेशेवरहरूको सहभागिता अपेक्षित छ।
कार्यक्रममा २५ जना अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राध्यापकहरूले Geometric Deep Learning, Foundational Models and Applications, र Modern Practices जस्ता तीन प्रमुख क्षेत्रमा व्याख्यान र कार्यशालाहरू सञ्चालन गर्नेछन्।
ANAIS का निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले यो कार्यक्रम दक्षिण एशियामा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सिक्ने र अन्तरक्रिया गर्ने दुर्लभ अवसर भएको बताए। खनालले भने, “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र नीति निर्माणको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र एआई क्षेत्रमा नेपाली विशेषज्ञता निर्माणमा सहयोग पुर्याउनेछ।”
कार्यक्रमका एजुकेशन आउटरीच प्रमुख आलोक खत्रीले ANAIS ले केवल शिक्षा प्रदानमात्र होइन, सहभागीहरूलाई विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावसायिक सञ्जाल विस्तार गर्ने, र व्यावहारिक कार्यशालामा अनुभव हासिल गर्ने अवसरसमेत उपलब्ध गराउने जानकारी दिए।
कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, र डाटा फर डेभलपमेन्ट इन नेपालजस्ता साझेदारहरूले सहयोग गरेका छन्। साथै, यंग इनोभेसन्स, सेक्युरिटी पल, गुगल, र फ्युजमेसिन्स पनिसमर्थकका रूपमा रहेका छन्।
गत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीले यस कार्यक्रममा सहभागिता जनाएका थिए। यसपटक कार्यक्रमले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीलाई एआईको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे