
काठमाडौं । समाज डेन्टल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि १ करोड रुपैयाँ बराबरको उपचार कोष स्थापना गर्ने घोषणा गरेको छ। अस्पतालको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले सबै वर्गका नागरिकलाई गुणस्तरीय दन्त सेवामा पहुँच पुर्याउने उद्देश्यले कोष सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार कोषबाट आर्थिक अभावमा परेका नागरिकलाई निःशुल्क वा सहुलियत दरमा दन्त उपचार सेवा उपलब्ध गराइनेछ।
विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टल अस्पतालले हाल काठमाडौं उपत्यका तथा काभ्रेपलाञ्चोकमा गरी १० स्थानबाट सेवा प्रदान गर्दै आएको छ। निकट भविष्यमै देशका सबै ७७ जिल्लामा सेवा विस्तार गर्ने योजनासमेत अस्पतालले अघि सारेको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ प्रवर्द्धन गर्नका लागि नेपालमा आँखा र दाँत उपचारको विश्वसनीयता अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए। उनले दन्त उपचार क्षेत्रमा सेवा, संरचना र जनशक्तिको विकासमार्फत अन्तर्राष्ट्रिय बिरामीलाई समेत आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।
यता, नेपाली कांग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले समाज डेन्टल अस्पताल स्थापना गर्नुको मूल उद्देश्य दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार र दक्ष जनशक्ति उत्पादन रहेको उल्लेख गरे। उनले हालका सेवा विस्तारको प्रगति र भविष्यका योजनाबारे समेत जानकारी दिँदै देशभर अस्पतालको सञ्जाल फैलाउने प्रतिबद्धता व्यक्त गरे।
समाज डेन्टल अस्पतालले विगत २५ वर्षदेखि दन्त सेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। कोष स्थापना जस्ता सामाजिक उत्तरदायित्वका कार्यले अस्पताललाई दन्त स्वास्थ्य क्षेत्रमा उदाहरणीय संस्थाको रूपमा स्थापित गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे