
काठमाडौँ — आजदेखि हिन्दू धर्ममा महत्वपूर्ण मानिने सोह्र श्राद्ध (पितृ पक्ष) सुरु भएको छ। हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएर १६ दिनसम्म दिवंगत पितृहरूलाई सम्झेर तर्पण, पिण्डदान, र सिदा दान गर्ने परम्परा छ।धर्मशास्त्रविद्हरूका अनुसार, आजको दिन (प्रतिपदा तिथि) को श्राद्ध अपराह्न (दिउँसो १२ बजेपछि) गरिनुपर्छ। यो समयमा पितृहरूले आश गरेर बस्ने विश्वास गरिन्छ, र तिनीहरूको आत्मा तृप्त होस् भनेर यो कर्म गरिन्छ।
यदि विशेष कारणले सोह्र श्राद्ध गर्न सकिएन भने, शास्त्रले विकल्प पनि दिएको छ—कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा), वा मंसिरमा वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने व्यवस्था छ। कसैले श्राद्ध गर्नै नसकेमा, ब्राह्मणमार्फत् वा आफैंले १० महिनासम्म १०८ मन्त्र जप गरेर पितृलाई सम्झन सकिन्छ।
श्राद्ध अपराह्नकालमै गर्नुपर्छ भन्ने शास्त्रीय नियम भए पनि कतिपय पुरोहितले बिहानै गराउने प्रचलन गलत भएको बताइएको छ। पितृ पक्ष सकिएपछि बडादसैँ सुरु हुने भएकाले, दशैँभन्दा अघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्नु परम्परा हो। यो परम्परा धर्म, संस्कार र पितृप्रतिको सम्मानको प्रतीक मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे