
काठमाडौं । यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत स्वास्थ्य शिक्षा प्रवर्धक विधामा टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठलाई सम्मान गरिएको छ। उनी विगत एक दशकभन्दा बढी समयदेखि स्वास्थ्य सूचना उत्पादन, सन्देश प्रवाह र स्वास्थ्य शिक्षामा सक्रिय हुँदै आएकी छिन्।
नेपालमा संघीयता लागू भएपछि तीन तहका सरकारअन्तर्गत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भए पनि आवश्यक सन्दर्भ सामग्री, सन्देश निर्माण र प्रस्तुतीकरणमा शिला श्रेष्ठ नै प्रमुख पात्रका रूपमा परिचित भएकी छन्। उनले २०७१ साल वैशाख १० गते स्वास्थ्य शिक्षा अधिकृतको रूपमा नेपाल सरकारको सेवामा प्रवेश गरेकी थिइन्। दुई वर्षपछि उनी स्वास्थ्य शिक्षा प्रशिक्षकका रूपमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा प्रवेश गरिन्। हाल उनी त्यही केन्द्रमा दशौँ तहमा कार्यरत छिन्।
संघीयता लागू भएपछि उनी स्वास्थ्य मन्त्रालयमा सूचना अधिकारी र स्वास्थ्य शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेकी छन्। सन्देश उत्पादनलाई जटिल प्रक्रिया मान्ने श्रेष्ठका अनुसार, स्वास्थ्य सूचना केवल सामग्री मात्र नभई मानिसको व्यवहार परिवर्तन गर्ने माध्यम हो। त्यसका लागि सांस्कृतिक विविधता, भाषा, शिक्षाको स्तर, अपांगमैत्रीता लगायतका पक्षलाई समेटेर सामग्री निर्माण गर्नुपर्छ।
उनले जनस्वास्थ्य सन्देशलाई सामाजिक सञ्जाल, आमसञ्चार, प्रभावशाली समूह र समुदायमार्फत प्रसारण गर्दै आएकी छिन्। स्वास्थ्य शिक्षा केन्द्रले अहिलेसम्म ३१ भाषामा सामग्री उत्पादन गरिसकेको उनले जानकारी दिइन्। उनले जोड दिँदै भनिन्— “सूचना एकरुप हुनु जरुरी छ, किनभने फरक–फरक स्रोतबाट जाने सन्देशले भ्रम उत्पन्न गर्न सक्छ।”
संघीयता आएपछि केन्द्रको बजेट र जनशक्ति कटौती भए पनि स्थानीय तहले पर्याप्त स्रोत परिचालन गर्न नसक्दा अतिरिक्त भार केन्द्रमा पर्न गएको उनले बताइन्। कोभिड–१९ महामारीको अनुभवलाई स्मरण गर्दै उनले समयमै सही सूचना नपुग्दा भ्रम र त्रुटि बढ्ने भएकाले सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
शिक्षा क्षेत्रमा पनि उनी सक्रिय छिन्। उनले स्वास्थ्य शिक्षा विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न महत्त्वपूर्ण भूमिका खेलेकी छन्। हाल कक्षा ८ मा अनिवार्य विषयका रूपमा समावेश भएपछि कक्षा ९ र १० मा पनि स्वास्थ्य शिक्षा अनिवार्य बनाउन उनले निरन्तर पहल गरिरहेकी छन्। नसर्ने रोग, धुम्रपान, मानसिक स्वास्थ्य र आत्महत्या जस्ता संवेदनशील विषयलाई पाठ्यक्रममा समेट्नुपर्नेमा उनको जोड छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीएस्सी नर्सिङ पढेकी उनले ढाका विश्वविद्यालयबाट मास्टर्स इन हेल्थ एजुकेशनसमेत पूरा गरेकी छिन्। उनले ओम हेल्थ क्याम्पस र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन पनि गरेकी थिइन्। शैक्षिक तथा व्यावसायिक यात्रामा उनले स्वास्थ्य प्रवर्धनलाई आफ्नो जीवनको मूल ध्येय बनाएकी छन्।
श्रेष्ठको अवार्डले स्वास्थ्य शिक्षा, सूचना र व्यवहार परिवर्तनको क्षेत्रमा निरन्तर योगदान दिने प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ। उनी भन्छिन्— “स्वास्थ्य कार्यक्रम र स्वास्थ्य शिक्षा सँगसँगै लैजानुपर्छ। ज्ञानले मात्र व्यवहार परिवर्तन सम्भव हुन्छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे