
काठमाडौँ — सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनका परिवारसँग सम्बन्धित सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। सोही क्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ भने सम्भावित प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित निवास परिसरमा भइरहेको भवन भत्काउने कार्य प्रहरीले रोक लगाएको छ।
स्रोतका अनुसार सत्ता दुरुपयोग गरी अस्वाभाविक तथा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा संकलित प्रमाण तथा थप सूचनाको विश्लेषण गर्दै अनुसन्धानलाई तीव्र बनाइएको जनाइएको छ।
गृह प्रशासन र प्रहरी स्रोतका अनुसार पछिल्लो एकदेखि डेढ वर्षको अवधिमा देउवा परिवारसँग सम्बन्धित व्यक्तिहरूका नाममा करिब ७३ रोपनी जग्गा खरिद गरिएको विवरण फेला परेको छ। साथै, नजिकका नातेदारहरूमार्फत विभिन्न खातामा भएको आर्थिक कारोबारको विवरण पनि संकलन भइरहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग सम्बद्ध स्रोतका अनुसार बूढानीलकण्ठस्थित निवास परिसरभित्र रहेका भवनहरूमाथि अनुसन्धान जारी रहेकाले भत्काउने कार्य रोकिएको हो। देउवा परिवारले उक्त परिसरभित्र दुईवटा आवासीय भवन निर्माण गरेका थिए, जससम्बन्धी उजुरी यसअघि नै परेको थियो।
यसअघि आन्दोलनका क्रममा उक्त निवासमा क्षति पुगेपछि परिवारका तर्फबाट कामदार परिचालन गरी भवन भत्काउने कार्य भइरहेको थियो। तर अनुसन्धानमा असर पर्ने तथा प्रमाण नष्ट हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्चस्तरीय निर्देशनमा प्रहरीले उक्त कार्य तत्काल रोकेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे