
एजेन्सी । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको छ। हसिनाकी बहिनी शेख रेहानालाई सात वर्ष, र रेहानाकी छोरी तथा बेलायती सांसद ट्युलिप सिद्दिकलाई दुई वर्ष कैद सजाय तोकिएको छ। सोही मुद्दामा संलग्न चौध जना सरकारी अधिकारीहरूलाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ।
उक्त मुद्दा ढाकास्थित आकर्षक जग्गा अवैध रूपमा कब्जा गरेको आरोपसँग सम्बन्धित रहेको बताइन्छ। बंगलादेशमा चलिरहेको भ्रष्टाचार अनुसन्धानमा नाम परेपछि ट्युलिप सिद्दिकले यस वर्ष जनवरीमा बेलायती भ्रष्टाचार विरोधी मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनले मुद्दालाई सतावटमूलक र प्रहसनजस्तो भन्दै अदालत प्रक्रियाको आलोचना गरेकी छन्।
यसैबीच, भ्रष्टाचार विरोधी आयोग ९ब्ऋऋ० का अभियोजक खान मैनुल हसनले तत्कालीन प्रधानमन्त्रीका प्रमुख सचिव सलाहुद्दीन अहमदसँग सिद्दिकबीच भएको पत्राचारले उनको संलग्नता पुष्टि हुने दाबी गरे। अदालतसँग देशभित्र वा विदेशमा रहेका सबै बंगलादेशी नागरिकविरुद्ध मुद्दा चलाउने पूर्ण अधिकार रहेको पनि उनले उल्लेख गरे।
अभियोजन पक्षका अनुसार अन्तरिम सरकारले सोमबारको फैसलाबारे बेलायतलाई औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको छ। सिद्दिक वा उनको परिवारले भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे