
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।
पोखरेलले सोमबारै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझामाथि उजुरी परेपछि सरकारद्वारा छानबिन प्रक्रिया सुरु गरिएको हो। बीमा ऐन, २०७९ को दफा १२ को उपदफा २ बमोजिम मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्यका रूपमा रहेका छन्।
छानबिन समिति गठन भएसँगै ओझा स्वभावतः निलम्बनमा परेका हुन्। समितिका अध्यक्ष गिरीसहित सदस्यद्वय सिटौला र ओलीले सोमबार नै औपचारिक रूपमा छानबिन कार्यका लागि पत्र ग्रहण गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
यस निर्णयसँगै बीमा क्षेत्रको नियमनकारी संस्थामा नेतृत्वको अस्थायी रूपान्तरण भएको छ भने छानबिन समितिले आगामी दिनमा ओझामाथिको आरोपको यथार्थ पत्ता लगाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे