
धनगढी । सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको भर्ना (Inpatient) सेवा विवरण अनुसार, महिला बिरामीको संख्या र उपचार सफलता दर उल्लेखनीय रहेको छ भने पुरुष बिरामीमा मृत्यु दर तुलनात्मक रूपमा उच्च देखिएको छ।
अस्पतालको तथ्यांक अनुसार वर्ष अवधिमा अस्पतालमा कुल १९,१६७ बिरामी भर्ना भएका थिए, जसमा १२,१९७ जना महिला र ६,९७० जना पुरुष रहेका छन्।
भर्ना भएका बिरामीमध्ये १७,४२६ जना (९१%) उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। तीमध्ये ११,४२५ जना महिला र ६,००१ जना पुरुष थिए।
यस अवधिमा अन्य अस्पतालमा रेफर गर्नुपरेको बिरामीको संख्या २९७ रहेको छ, जसमा पुरुषको संख्या महिला भन्दा केही बढी देखिएको छ – पुरुष १५६, महिला १४१।
अस्पतालको तथ्यांकमा ‘LAMA/DOPR’ (आफै इच्छाले अस्पताल छाड्ने वा उपचार नलिएर फर्किने) केस १,१११ रहेको छ। यसमा पनि पुरुषको संख्या ५८६ र महिला ५२५ रहेको छ।
सबैभन्दा गम्भीर पक्ष भनेको मृत्यु दरमा देखिएको लिङ्गगत अन्तर हो। कुल ३०५ जना बिरामीको मृत्यु भएकोमा २१६ पुरुष र ८९ महिला रहेका छन्। यसले पुरुष बिरामीमा मृत्यु दर उच्च रहेको देखाउँछ, जसलाई स्वास्थ्य जोखिम मूल्याङ्कनका हिसाबले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।
त्यस्तै, २८ जना बिरामी उपचार अवधिमै अस्पतालबाट सम्पर्कविहीन (Absconded) भएका छन्, जसमा महिला १७ र पुरुष ११ जना छन्।
अस्पताल प्रशासनले बिरामी सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ भने लिङ्गीय असमानता देखिएका सूचकहरूलाई सम्हाल्न विशेष योजना अघि बढाउने बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे