
काठमाडौं। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका विवरणको दुरुपयोग हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका डेटा सुरक्षामा सरकार संवेदनशील रहेको बताएका छन्। उनले भने, “नागरिकका जैविक र व्यक्तिगत विवरणको सुरक्षा प्रति सरकार गम्भीर छ र यसको दुरुपयोग हुन दिँदैनौं। डेटा सुरक्षामा सरकारले विशेष ध्यान दिनेछ।”
सांसदहरूले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका डेटा सुरक्षाबारे चासो व्यक्त गरेको प्रतिक्रिया जनाउँदै गृहमन्त्री लेखकले सर्भर र नेटवर्कसमेत सबै सुरक्षा प्रणाली सुनिश्चित गर्न सरकार गम्भीर रहेको जानकारी दिएका छन्।
गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्रलाई सुशासन प्रवर्द्धन, सेवाको सहज उपलब्धता, र अपराध नियन्त्रणको लागि अपरिहार्य बताउँदै भने, “सरकारले हाल सार्वजनिक सबै सेवाहरूलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने काम गरिरहेको छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे