
काठमाडौँ – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (DBAN) ले आफ्ना सदस्य बैंक ज्योति विकास बैंक लिमिटेडका कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। एशोसिएसनका अनुसार, रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकहरूले कर्जा किस्ता नियमित गर्ने विषयमा छलफलका लागि बोलाई मिति २०८२/०८/२४ मा बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट पुगेका बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण गरेका थिए।
संयुक्त विज्ञप्तिमा भनिएको छ कि नियामक निकायबाट जारी नीति, निर्देशन तथा प्रचलित ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह र वित्तीय सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक र आपराधिक गतिविधिको निशानामा पर्दै आएका छन्। यस प्रकारका घटनाले बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर पार्ने खतरा बढाएको एशोसिएसनको ठहर छ।
कर्जा असुली बैंकको वैधानिक दायित्व भएको र निक्षेपकर्ताको बचत सुरक्षित गर्नु बैंक तथा वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै, नियमित असुली प्रक्रिया अपनाउने क्रममा बैंकका कर्मचारीहरूले यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था गम्भीर चिन्ताको विषय भएको जनाइएको छ। यसले बैंकिङ सेवा प्रयोग गर्न निरुत्साहित गर्ने मात्र होइन, नियामक निकाय र ऐन–कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्न समेत बाधा पुर्याउने एशोसिएसनले जनाएको छ।
विज्ञप्तिमा थप भनिएको छ कि कर्जा असुली प्रक्रिया, धितो लिलामीलगायतका विषयमा असहमति भए कानुनी बाटो—गुनासो, अदालत वा अन्य वैधानिक प्रक्रियामार्फत समाधान खोज्न सकिने अवस्था हुँदाहुँदै कानून आफ्नै हातमा लिई गरिएको यस्तो आपराधिक गतिविधिको घोर निन्दा र भर्त्सना गरिन्छ। आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरिएको ऋण असुलीका लागि संवाद गर्न जाँदा कर्मचारीको ज्यानै लिने मनसायले गरिएको आक्रमण अत्यन्त निन्दनीय रहेको एशोसिएसनको ठहर छ।
घटना घटेकै दिन सम्बन्धित निकायलाई जानकारी गराइए पनि समयमै आवश्यक कदम नचालिएको भन्दै एशोसिएसनले गम्भीर असन्तुष्टि जनाएको छ। सूचना प्राप्त भइसकेको अवस्थामा स्वतः अनुसन्धान अघि बढ्नुपर्नेमा यो विज्ञप्ति सार्वजनिक हुँदासम्म समेत जाहेरी दर्ता नहुनु खेदजनक भएको उल्लेख गर्दै स्थानीय प्रहरी प्रशासनको गम्भीर कमजोरी औँल्याइएको छ।
एशोसिएसनले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न, कर्मचारीहरूको मनोबल उच्च बनाउने र शान्ति–सुरक्षाको अनुभूति दिलाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, भविष्यमा यस्ता आपराधिक घटनाहरू दोहोरिन नदिने सुनिश्चितता गर्दै, सूचना प्राप्त हुनासाथ जाहेरीको पर्खाइ नगरी सरकारी निकायले तत्काल कारबाही अघि बढाउन आग्रह गरिएको छ।
बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिहरूलाई निरुत्साहित गर्न तथा जिम्मेवार र सजग भूमिका निर्वाह गर्न एशोसिएसनले सम्पूर्ण जनमानसमा आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे