
काठमाडौं । डेढ महिनादेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को काम आजदेखि पुनः सुचारु भएको छ । अर्थ मन्त्रालयले सेवा–सुविधा कटौती गरेपछि आन्दोलित बनेका कर्मचारीले माग सम्बोधनमा सहमति भएपछि काम पुनः सुरु गरेका हुन् । नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाका अनुसार, मागका विषयमा सहमति जुटेपछि आजदेखि बोर्डको नियमित प्रशासनिक तथा नियामक कामकाज सञ्चालनमा आएको हो ।
ढुंगानाले भने, “हाम्रो माग सम्बोधन गर्ने सहमति भएपछि फिलहाल आन्दोलन रोकिएको छ । तर, एक साताभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलन सुरु हुनेछ ।”
अर्थ मन्त्रालयले गत आइतबार बोर्डलाई पठाएको पत्रको कानुनी औचित्य अध्ययन गर्न कानुन मन्त्रालयका सहसचिवको अध्यक्षतामा अध्ययन समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिमा बोर्डमा क्रियाशील कर्मचारी संगठनको प्रतिनिधित्व रहनेछ भने समितिले सेबोनका कर्मचारीको सेवा–सुविधासम्बन्धी नियमावली र मन्त्रालयको पत्रबीचको अन्तर अध्ययन गरी आवश्यक सिफारिस पेश गर्ने जिम्मेवारी पाएको छ ।
सेवा–सुविधा कटौतीको विरोधमा सेबोनका कर्मचारीले डेढ महिनादेखि काम ठप्प पारेका थिए । यसबीचमा धितोपत्र बजारसम्बन्धी विभिन्न प्रशासनिक, नियामक र अनुमतिपत्र वितरणका काम प्रभावित भएका थिए । बोर्ड पुनः सञ्चालनमा आएपछि अहिले ७४ कम्पनीको ५४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर निष्कासन प्रक्रिया अगाडि बढ्ने तयारी छ । साथै, करिब पौने ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर र २३ करोड रुपैयाँ बराबरको एफपीओ (Follow-on Public Offer) प्रक्रियासमेत अघि बढाइने भएको छ ।
यसअघि, माग सम्बोधनमा ढिलाइ भएपछि कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए । तर, हाल सहमति भएपछि आन्दोलन स्थगित भएको छ र कर्मचारीहरू काममा फर्किएका छन् ।
बोर्डको पुनः सञ्चालनसँगै सेयर बजारका लगानीकर्ताहरूले राहतको अनुभूति गरेका छन् । बजार विश्लेषकहरूले भनेका छन् कि लामो समयको अवरोधपछि बोर्ड सञ्चालनमा आउनु पूँजी बजारमा स्थिरता ल्याउने सकारात्मक कदम हो । आगामी दिनमा बोर्डले प्रशासनिक कार्यक्षमता र नियामक विश्वसनीयता सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे