
काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय स्थापनाका लागि काठमाडौं र ललितपुर जिल्लाका विशेष क्षेत्रहरूमा घर वा जग्गा खरिद गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार न्यूनतम २० आना क्षेत्रफल भएको जग्गा तथा भवनसहितको सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरू वा संघसंस्थाहरूबाट प्रस्ताव माग गरेको हो। प्रस्ताव पेश गर्न सूचना प्रकाशित भएको मितिबाट २१ औं दिनसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गरिसक्नु पर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट प्रस्ताव दर्ता गर्न सकिनेछ।
कम्पनीले प्राथमिकताका रूपमा काठमाडौंको लाजिम्पाट, उत्तरढोका, नागपोखरी, हात्तिसार, टंगाल, ज्ञानेश्वर, तिनकुने, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, थापाथली, गहनापोखरी तथा ललितपुरको पुल्चोक, जावलाखेल, कुपण्डोल, सानेपा, कुमारीपाटी र मानभवन क्षेत्रलाई तोकेको छ। ती क्षेत्रहरूसँगै त्यसभन्दा नजिकका क्षेत्रहरू पनि प्रस्तावमा समावेश गर्न सकिनेछ। प्रस्तावित सम्पत्ति न्यूनतम ६ मिटरको मुख्य सडकसँग जोडिएको हुनुपर्ने र भवनसहितको सम्पत्तिलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
प्रस्तावमा जग्गा र भवनको मूल्य स्पष्ट रूपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ। कुनै विवाद उत्पन्न भएमा अक्षरमा लेखिएको मूल्य मान्य मानिनेछ। जग्गाधनी दर्ता प्रमाणपत्रमा उल्लेखित क्षेत्रफल र फिल्डमा नापिएको क्षेत्रफलमध्ये जुन कम हुन्छ, सोही कायम गरिनेछ। सम्पत्तिमा यदि भवन निर्माण सम्पन्न भइसकेको छ भने त्यसको नक्सा र निर्माण सम्पन्न प्रमाणपत्र, र निर्माणाधीन अवस्था भएमा सम्बन्धित निकायबाट प्राप्त इजाजतपत्र अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ।
शिलबन्दी बोलपत्रमा पूर्जाको प्रतिलिपि, नागरिकता प्रमाणपत्र, तिरो रसिद, चार किल्लाको प्रमाण, ब्लुप्रिन्ट, ट्रेस नक्शा, साविक उपयोग भएमा त्यसको प्रमाण, तथा सम्पत्तिमा कुनै कानुनी विवाद, गुठी, मोही, तेरो–मेरो नरहेको घोषणा अनिवार्य रूपमा संलग्न गरिनुपर्नेछ। कम्पनी वा फर्मको हकमा दर्ता प्रमाणपत्र र संचालक समितिको निर्णय समेत पेश गर्नुपर्नेछ।
बोलपत्र “आईएमई लाइफका लागि घर/जग्गा बिक्री प्रस्ताव” भनेर उल्लेखित खाममा राखी कम्पनीको केन्द्रीय कार्यालय, हाथवे कम्प्लेक्स, लैनचौर, काठमाडौंमा तेस्रो तल्लामा दर्ता गराउनु पर्नेछ। प्राप्त सबै बोलपत्रहरू अन्तिम दिनको कार्यालय समयपछि कम्पनीको सामान्य सेवा विभागमार्फत खोलिनेछ। सो समयमा प्रस्तावकको उपस्थितिको अनिवार्यता नभए तापनि प्रक्रिया अघि बढाइनेछ।
आईएमई लाइफले कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने, छनौटमा परेकाहरूसँग पुनः वार्ता गर्ने वा आवश्यक शर्त थप्ने अधिकार कम्पनीमा सुरक्षित रहेको स्पष्ट पारेको छ। अस्वीकृत प्रस्तावबारे कारण खुलाउन कम्पनी बाध्य नहुने र म्याद नाघेका वा प्रक्रिया नपुगी आएका प्रस्तावहरू स्वतः अमान्य हुने जानकारी दिइएको छ।
थप जानकारीका लागि इच्छुक पक्षहरूले कम्पनीको वेबसाइट www.imelifeinsurance.com मा अवलोकन गर्न सक्नेछन, वा कम्पनीको केन्द्रीय कार्यालय लैनचौरमा सम्पर्क गर्न सकिनेछ। ईमेलमार्फत जानकारीका लागि [email protected] वा फोन नम्बर ०१–४०२४०७१ मा सम्पर्क गर्न सकिनेछ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे