काठमाडौँ, असोज १६ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको कार्य शनिबारदेखि सुरु भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्नेछन् ।
राससका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ । आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ ।
आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । आयोगको आग्रहबमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवं उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताउनुभयो । उक्त प्रणालीमा ६८ दलले भाग लिएका छन् ।
संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ ।आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे