काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ मा २०.४७ प्रतिशत लाभांश दिन सक्ने वित्तीय क्षमता बनाएको देखिएको छ। बैंकले हालै सार्वजनिक गरेको वार्षिक अपरिस्कृत वित्तीय विवरणका आधारमा यो तथ्य बाहिर आएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले मात्र ५.२६ प्रतिशत लाभांश दिएको थियो, जबकि त्यो बेला बैंकको लाभांश क्षमता १०.६६ प्रतिशत थियो।
यो वर्ष बैंकले अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले मात्र नाफा बढाएको हो। तर वितरणयोग्य नाफामा दोब्बर वृद्धि देखिनुका पछाडि मुख्य कारण हो—बक्यौता ब्याजबाट प्राप्त रकमलाई सञ्चित नाफामा स्थानान्तरण गर्न सफल हुनु। बैंकले ३३ करोड ५५ लाख रुपैयाँ नियामकीय जगेडाबाट ट्रान्सफर गरेर वितरणयोग्य नाफा बढाएको हो।
बैंकले यो आवमा कुल २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो आवमा यो नाफा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ थियो। यसका साथै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
बैंकको आम्दानीतर्फ पनि सुधार देखिएको छ। यस आवमा सानिमा बैंकले ६ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब १९ करोड रुपैयाँ फी एन्ड कमिसन आम्दानी गरेको छ। अघिल्लो वर्ष ती क्रमशः ६ अर्ब १८ करोड र १ अर्ब २ करोड रुपैयाँ थिए।
खर्चतर्फ हेर्दा, बैंकले नोक्सानी व्यवस्थापनका लागि १ अर्ब ८९ करोड रुपैयाँ प्रोभिजनिङ छुट्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही बढी हो। त्यस वर्ष प्रोभिजन रकम १ अर्ब ४३ करोड रुपैयाँ थियो। खर्चमा सामान्य वृद्धिका बाबजुद आम्दानीमा आएको वृद्धि र रिकभरीले गर्दा बैंकको नाफा वृद्धि भएको हो।
सानिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) १८ रुपैयाँ ९३ पैसा पुगेको छ। त्यस्तै, प्राथमिक पुँजी अनुपात ९.८६ प्रतिशत, पुँजीकोष अनुपात १३.०१ प्रतिशत, कुल निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.२१ प्रतिशत रहेको छ। ब्याजदर स्प्रेड ३.६८ प्रतिशत कायम भएको छ भने ROE ११.७३ प्रतिशत पुगेको छ।
निष्क्रिय कर्जा (NPL) वृद्धि भए पनि बैंकले कर्जा प्रवाह १७ अर्ब रुपैयाँले बढाएर १ खर्ब ७६ अर्ब पुर्याएको छ। निक्षेप पनि २७ अर्बले वृद्धि भई २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।
असार मसान्तको विवरण अनुसार सानिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने P/E रेसियो १९.८० कायम छ। यी सबै सूचकांकहरूले संकेत गर्छन् कि बैंकले लाभांश वितरणका लागि बलियो वित्तीय स्थिति बनाएको छ।
बैंकले पछिल्लो वर्षको तुलनामा लाभांश क्षमतामा दोब्बर वृद्धि गरेको यो परिणामले सेयरधनीहरूका लागि सकारात्मक सन्देश दिएको छ।








