
काठमाडौँ – खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म बैंकले ३० करोड २५ लाख ९८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ नाफा भएकोले यस वर्ष नाफा ५३.९५ प्रतिशतले बढेको देखिन्छ।
बैंकको नाफा बढ्नमा मुख्य कारण खुद ब्याज आम्दानीमा भएको वृद्धि हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँको तुलनामा १८.४९ प्रतिशतले बढी हो। साथै, कर्जा नोक्सानी व्यवस्थामा छुट्याइएको रकम घट्दा पनि नाफामा वृद्धि भएको हो। गत वर्ष बैंकले २० करोड ८५ लाख ४१ हजार रुपैयाँ छुट्याएकोमा चालु वर्षमा १७ करोड ६८ लाख ४३ हजार रुपैयाँ मात्रै छुट्याएको छ।
हाल बैंकको कर्जा ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँमा पुगेको छ भने निक्षेप ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ। यसले ब्याज खर्च घटाएको र खुद ब्याज आम्दानी बढाएको छ। वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको भए पनि १० करोड ३९ लाख रुपैयाँ नियामकिय जगेडा कोषमा छुट्याएपछि वितरणयोग्य नाफा कम भएको छ।
बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६९ हजार रुपैयाँ, सञ्चित नाफा ९ करोड ४६ लाख ६१ हजार, र जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४६ पैसाबाट बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा, मूल्य–आम्दानी अनुपात २४.७८ गुणा, प्राथमिक पुँजीकोष १०.७० प्रतिशत, कुल पुँजीकोष १४.१२ प्रतिशत, निष्क्रिय कर्जा ६.८७ प्रतिशत, सीडी रेसियो ८३.५५ प्रतिशत, र त्रैमासको आधार दर ६.१७ प्रतिशत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे