
काठमाडौँ । मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय सुनाएको छ। यससँगै उनले पहिले पाइसकेको जन्मकैद सजायका अतिरिक्त अब १० वर्ष थप जेल बस्नुपर्ने भएको छ।
उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई थप सजाय दिएको हो। यसअघि जिल्ला अदालतले उनलाई सनम शाक्यको हत्या गरेको अभियोगमा जन्मकैद सजाय सुनाएको थियो, तर अपहरण मुद्दामा छुट्टै सजाय तोकेको थिएन।
अदालतले गोरेसहित लाक्पा शेर्पा र भविन राई (भविन तामाङ) ले दिएको पुनरावेदन खारेज गरेको छ। तर गोरेका नजिकका सहयोगी कृष्ण भनिने नरेन्द्र कार्की, मोहन काफ्ले र भोजे मामा भनिने भोजराज भण्डारीलाई भने जन्मकैदको सट्टा १०–१० वर्ष जेल सजाय मात्र कायम गरिएको छ।
३३ किलो सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी मुद्दामा भने अदालतले सरकारी दाबी पुग्न नसकेको ठहर गर्दै धेरै अभियुक्तलाई सफाइ दिएको छ। यसमा पूर्वप्रहरी अधिकारी र व्यापारीहरू पनि छन्। यो प्रकरण २०७४ सालमा दुबईबाट ल्याइएको ३३ किलो सुन हराएपछि बाहिर आएको थियो। सोही सुन खोज्ने क्रममा गोरेको समूहले सनम शाक्यलाई यातना दिँदै हत्या गरेको थियो। अहिलेसम्म पनि हराएको सुन फेला पर्न सकेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे