
काठमाडौं। साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नेपाली समयअनुसार आइतबार साँझ ६ः४६ बजे बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।
बंगलादेश प्रतियोगिताको सबैभन्दा बलियो टिम मानिएको छ र नेपालका लागि गम्भीर चुनौती बन्ने देखिन्छ। सन् २०२२ यताका खेललाई हेर्दा, सिनियर महिला टोलीदेखि अन्य उमेर समूहसम्म नेपालले बंगलादेशविरुद्ध एकपल्ट पनि जित निकाल्न सकेको छैन। त्यस अर्थमा आजको खेल नेपालका लागि तीन वर्षदेखिको हारको शृङ्खला तोड्ने ऐतिहासिक अवसर हुन सक्छ।
नेपाली टोली बिर्सना चौधरीको कप्तानीमा मैदान उत्रनेछ। टोलीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर रहेका छन्।
प्रतियोगितामा नेपालको प्रदर्शन उत्साहजनक देखिएको छ। तर बंगलादेशविरुद्धको आजको प्रतिस्पर्धा नेपाली टोलीको मानसिक बल, रणनीतिक योजना र टोली संयोजनको ठोस परीक्षण हुने निश्चित देखिन्छ।
नेपालले यदि आजको खेलमा विजय हात पार्न सफल भयो भने, यो पछिल्लो तीन वर्ष यताको फुटबल इतिहासमा एक महत्वपूर्ण मोड सावित हुन सक्ने प्रवल सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे