
काठमाडौं, २७ फागुन। रुस र युक्रेन बीचको तीन वर्षदेखि जारी युद्धको समापनका लागि युक्रेनी र अमेरिकी अधिकारीहरू साउदी अरबमा आज महत्त्वपूर्ण वार्ता गर्दैछन्। यस वार्तामा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री, साथै उच्च सैनिक अधिकारीहरूको सहभागिता हुने जानकारी छ। अमेरिकाबाट पनि उच्च अधिकारीहरू बैठकमा भाग लिनेछन्।
वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि साउदी अरब जानेछन्। यो वार्ता शुरू हुनुअघि, जेलेन्स्कीले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेट गरेका छन्, तर उनले वार्तामा सहभागी नहुने खबर छ। साउदी अरबले युद्धका बीचमा विभिन्न मुद्दामा मध्यस्थता गर्दै आएको छ।
अघिल्लो शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्की बीचको चर्काचर्कीको घटनापछि यो पहिलोपटक युक्रेन र अमेरिका बीचको वार्ता हुँदैछ। अमेरिकी विदेश विभागका वरिष्ठ अधिकारीहरूले युक्रेनको सकारात्मक दृष्टिकोण र रचनात्मक वार्ताका लागि प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे