
काठमाडौं – नेपालबाट रुबेला रोग पूर्ण रूपमा उन्मूलन भएको घोषणा विश्व स्वास्थ्य संगठन (WHO) ले गरेको छ। बालबालिकाका लागि खतरनाक मानिने यो रोग हटाउन नेपाल सफल भएको हो।
विश्व स्वास्थ्य संगठनले नेपालमा हालसम्म देखिएको प्रगति र निर्धारित मापदण्डको मूल्यांकन गरेपछि रुबेला रोग अब छैन भनेर पुष्टि गरेको हो।
नेपाल सरकारले सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी रुबेलाविरुद्ध खोप अभियान सुरु गरेको थियो। त्यसयता चारपटक राष्ट्रियस्तरका खोप अभियान सञ्चालन गरिएका छन्।
नेपालले ‘एमएमआर’ (खसरा, मुम्प्स र रुबेला) खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गरेको छ। हाल देशभरका झन्डै ९५ प्रतिशत बालबालिकाले कम्तीमा एक डोज खोप लिइसकेका छन्, जुन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पर्याप्त हो।
यस आधारमा नेपाल दक्षिण–पूर्वी एसियाली क्षेत्रको छैठौं मुलुक बनेको छ, जसले रुबेला रोगको उन्मूलन गर्न सफल भएको घोषणा पाएको हो। स्वास्थ्य मन्त्रालयले यो उपलब्धिलाई सार्वजनिक स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सफलता भनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे