
काठमाडौं, ४ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। बैठकमा हालको राजनीतिक अवस्था, समसामयिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुने राप्रपाले जनाएको छ।
बैठकमा विशेष गरी गत चैत्र १५ गते तीनकुनेमा आयोजित विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेताकार्यकर्ताबारे पनि चर्चा हुने छ। सो प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरामाथि मुद्दा दायर गरिएको छ। उनीहरू हाल जिल्ला प्रहरी परिसरको हिरासतमा छन्।
राप्रपाले आफ्ना नेताकार्यकर्ताको गिरफ्तारीलाई गैरकानुनी र राजनीति प्रेरित भन्दै विरोध जनाउँदै आएको छ। पार्टीले वैशाख २० गतेभित्र उनीहरूलाई निःशर्त रिहा नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। पार्टीले यस विषयमा के कस्ता थप रणनीति अपनाउने भन्ने निर्णय यही बैठकमार्फत तय गर्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे