
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार हुने राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय सभा निर्वाचनबाट अलग रहने निर्णय लिएको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रिय सभामा पार्टीको तर्फबाट उम्मेदवार नरहेकाले निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको हो। साथै, पार्टीका सम्पूर्ण प्रतिनिधि र कार्यकर्ताहरूलाई आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित गरिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको उनले बताए।
“हाल पार्टी पूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिरहेको छ,” प्रवक्ता श्रेष्ठले भने, “यही कारणले राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो।” राप्रपाको यस निर्णयसँगै राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूको संख्या घट्ने भएको छ। पार्टीले आगामी निर्वाचनमा आफ्नो शक्ति र संगठन सुदृढीकरणमा केन्द्रित हुने रणनीति अवलम्बन गरेको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे