
काठमाडौं, असार २। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेबापत सो बैठकबाट प्राप्त हुने भत्ता नलिने निर्णय गरेको छ। उक्त भत्ता राजस्व खातामा फिर्ता पठाउने जानकारी पार्टीले संघीय संसद सचिवालयलाई पत्रमार्फत दिएको हो।
राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीद्वारा हस्ताक्षरित पत्रमा संसद सचिवालयलाई सम्बोधन गर्दै, असार १ गतेको प्रतिनिधिसभाको बैठकको विषयमा राप्रपा संसदीय दलको स्पष्ट निर्णय रहेको उल्लेख छ। पत्रमा भनिएको छ, “पार्टीले उठाएका मागहरू बेवास्ता गरिँदै जबरजस्ती रूपमा संसद बैठक सञ्चालन गरिएको हुनाले हाम्रो दलले बैठक बहिष्कार गरेको थियो।”
बैठक बहिष्कार गरेकाले राप्रपाका सांसदहरू उपस्थित नभएको अवस्थामा पनि भत्ता दिने प्रचलनअनुसार रकम प्राप्त हुने सम्भावना रहेकाले पार्टीले उक्त भत्ता नलिने निर्णय गरेको जनाएको छ। साथै, उक्त रकम राज्यको राजस्व खातामा फिर्ता पठाउन अनुरोध गरिएको छ।
राप्रपाले बैठक बहिष्कारलाई नीतिगत र सैद्धान्तिक रुपमा उपयुक्त ठहर गर्दै भत्ता नलिने निर्णय गर्नु सैद्धान्तिक जिम्मेवारीको प्रतिबिम्ब भएको बताएको छ। प्रमुख सचेतक शाहीद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “उक्त दिनको बैठक भत्ता नलिने निर्णय संसदीय दलले गरिसकेको जानकारी यो पत्रमार्फत गराइएको छ।”
यसअघि पनि राप्रपाले संसदमा भिजिट भिसा प्रकरणलगायतका मुद्दामा सरकारको आलोचना गर्दै संसद अवरोध गर्दै आएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे