
काठमाडौं। हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी मुख्यालयको तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा सडक पूर्ण रूपमा बन्द वा एकतर्फी मात्रै सञ्चालन भइरहेको छ।
कोशी प्रदेश
संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण क्षेत्रमा २०८२/०५/१५ मा आएको अविरल वर्षाले कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा समेत बाढीका कारण सडक आवागमन बन्द छ।
बागमती प्रदेश
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा २०८२/०३/२४ मा आएको बाढीले सडक क्षति पुर्याएको छ। त्यस्तै, उत्तरगया गाउँपालिका–५ नौबिसे क्षेत्रमा नेपाल–चीन जोड्ने गल्छि–त्रिशुली–मैलुङ–स्याफ्रु सडक आंशिक रूपमा मात्र सुचारु छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग २०८२/०५/०९ मा आएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोड क्षेत्रमा पृथ्वी राजमार्ग तथा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइखोला क्षेत्रमा नारायणगढ–मुग्लिङ सडक पनि पूर्ण रूपमा बन्द भएका छन्।
गण्डकी प्रदेश
बाग्लुङ नगरपालिका–१३ कालाखोला क्षेत्रमा २०८२/०५/१४ मा आएको पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी मात्र सञ्चालनमा छ। नवलपरासीको गैडाकोट नगरपालिका–३ तरडखोला क्षेत्रमा बाढी तथा विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर र पैस मोड क्षेत्रमा आएको पहिरो र अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग आंशिक रूपमा सुचारु भएको छ।
लुम्बिनी प्रदेश
रुकुम पूर्वको भुमे गाउँपालिका–४ कौंडाबगर क्षेत्रमा २०८२/०५/३० मा आएको पहिरोले मध्यपहाडी राजमार्गलाई अवरुद्ध पारेको छ। हाल सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार, यी सडकहरू छिट्टै सुचारु गर्न सरोकारवाला निकायसँग समन्वय गरिएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। विस्तृत विवरण र अद्यावधिक जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट (https://www.nepalpolice.gov.np/notices/1141) अवलोकन गर्न सकिनेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे