
काठमाडौं — नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइँदै आएको जोखिम भार घटाउँदै करिब १ खर्ब रुपैयाँबराबरको कर्जामा सकारात्मक प्रभाव पार्ने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीतिको समिक्षामार्फत उक्त व्यवस्था ल्याइएको हो।
अबदेखि सबै प्रकारका सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत मात्रै लागु हुने भएको छ। हालसम्म ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत जोखिम भार लाग्दै आएको थियो।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८१ चैत मसान्तसम्म सेयर धितो कर्जाको कुल आकार १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ, जसमा ५० लाख रुपैयाँभन्दा माथिका कर्जा करिब १ खर्ब रुपैयाँ रहेका छन्। जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिँदा जोखिम भारित सम्पत्ति २५ अर्ब रुपैयाँले घट्ने देखिएको छ।
यस निर्णयले बैंकहरूको प्राथमिक पूँजीमा परेको दबाब कम हुने र कर्जा लगानीको थप सम्भावना खुल्ने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार बैंकहरूले जोखिम भारको आधारमा २५ अर्ब रुपैयाँसम्म कर्जा विस्तार गर्न सक्ने सम्भावना रहेको नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरूप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार, कोभिडपछिको समय र विदेशी मुद्राको सञ्चिति घटेको अवस्थाका कारण कडाइ गरिएको नीतिलाई बिस्तारै सहज बनाउने क्रममा यस निर्णयलाई अघि सारिएको हो। सन् २०७८ मा जोखिम भार १५० प्रतिशत पुर्याइएको थियो, जुन चरणबद्ध रूपमा घटाउँदै अहिले सबै सेयर धितो कर्जालाई १०० प्रतिशतमा ल्याइएको हो।
यससँगै, सूचीकृत नभएका धितो कर्जा र उच्च जोखिम भएका ऋणपत्रमा भने अझै बढी जोखिम भार लागू हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे