
काठमाडौं, फागुन १ – रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले REN Science Fair Ft. Literature Fest.-2025 (चौथो संस्करण) को आयोजना फागुन १ गतेदेखि गरेको छ। तीन दिनसम्म सञ्चालन हुने यो प्रदर्शनी विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यसँग सम्बन्धित विविध गतिविधिहरू समेटेर प्रस्तुत गरिएको छ। आयोजकहरूका अनुसार यस प्रदर्शनीले करिब ५००० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्ने लक्ष्य राखिएको छ। विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।
प्रदर्शनीमा ४९ स्टलहरू राखिएको जनाइएको छ, जसमा विज्ञान र प्रविधिसम्बन्धी नवीनतम खोज, अनुसन्धान तथा प्रविधिहरू समेटिएको छ। अन्य विद्यालयस्तरीय विज्ञान प्रदर्शनीहरूसँगै Art Painting, HM Stall, Face Painting, Food Stall, तथा Book Stall जस्ता अतिरिक्त गतिविधिहरू समेत समावेश गरिएको छ।
यस प्रदर्शनीका प्रमुख आकर्षणहरूमा कस्तूरी मृग संरक्षण तथा दिगो व्यवस्थापन, तितलीहरूको संसार सम्बन्धी फोटो ग्यालरी तथा स्लाइड प्रस्तुति, सौर्य तथा वायु ऊर्जा प्रयोग गरेर निर्माण गरिएको स्मार्ट सिटीको ३D मोडल, आपतकालीन प्रतिक्रिया प्रणालीमा आधारित LIFI प्रविधि, ज्वालामुखी विस्फोटको प्रस्तुति तथा यसको प्रभावहरू, स्मार्ट सिंचाइ प्रणालीको प्रदर्शन तथा रजस्वला चक्रको वैज्ञानिक व्याख्या रहेका छन्।
साहित्यिक अन्तरक्रिया अन्तर्गत चर्चित उपन्यासकार अमर न्यौपाने र उद्धव प्याकुरेलसँग विशेष संवादको कार्यक्रम तय गरिएको छ। साथै, समापन समारोहअघि Reliance Singing Idol 5th Season को ग्रान्ड फिनाले समेत आयोजना गरिने बताइएको छ।
कार्यक्रमको उद्घाटन समारोह फागुन १ गते बिहान १०:३० बजे सम्पन्न भएको जानकारी गराइएको छ, जसका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) का सदस्य सचिव डा. रविन्द्रप्रसाद ढकाल रहेका छन्।
त्यस्तै, समापन समारोह फागुन ३ गते दिउँसो १:३० बजे हुने छ, जसमा प्रमुख अतिथि अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बराल रहनेछन्।
नेपालका प्रतिष्ठित वैज्ञानिक, साहित्यकार, शिक्षाविद् तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितासहित कार्यक्रम भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे