
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेका छन्।
राजमार्ग पुनर्निर्माणका लागि पाँच महिनापछि ठेक्का आह्वान गरिएको हो। गत असोजमा रोशी खोलामा आएको बाढीका कारण रोशीदेखि नेपालथोकसम्म करिब १३ किलोमिटर सडकमा क्षति पुगेको थियो। सोमध्ये साढे आठ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो। उक्त क्षतिग्रस्त सडक चार प्याकेजमा पुनर्निर्माण गरिने योजना बनाइएको छ।
सिन्धुलीतर्फको पहिलो प्याकेजअन्तर्गत नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पुनर्निर्माणका लागि गत फागुन २८ गते ठेक्का आह्वान गरिएको छ। सो परियोजनाका लागि ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने ठेक्का प्रक्रियामा सहभागी कम्पनीले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षण रकम राख्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, काभ्रेपलाञ्चोक क्षेत्रमा पर्ने क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि मंगलबार पहिलो ठेक्का आह्वान गरिएको छ। डिभिजन सडक कार्यालयका अनुसार उक्त आठ किलोमिटर (डालाबेंसीदेखि चारसयाबेंसीसम्म) सडक पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। यसमा सहभागी निर्माण कम्पनीले ६ करोड ५० लाख रुपैयाँ सुरक्षण रकम राख्नुपर्नेछ।
अर्थ मन्त्रालयले गत फागुन ६ गते बिपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ। उक्त स्वीकृति प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिएका छन्। उनका अनुसार काभ्रेपलाञ्चोकतर्फका बाँकी दुई ठेक्का भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ।
इन्जिनियर योगेशका अनुसार दुई वर्षभित्र सडक पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनभित्र आवेदन दिन सकिनेछ भने प्राविधिक र आर्थिक मूल्याङ्कन पूरा भएपछि करिब दुई महिनाभित्र ठेक्का सम्झौता गरिनेछ। पुनर्निर्माणपछि सडक दुई लेनको हुनेछ भने यसअघि रहेको ‘इन्टरमिडियट लेन’लाई सुधार गरी एस्फाल्ट कङ्क्रिटयुक्त बनाइनेछ।
स्थायी पुनर्निर्माण अघि आउँदो वर्षायाममा नियमित यातायात सञ्चालन सहज बनाउन अस्थायी मर्मत कार्यलाई तीव्रता दिइएको छ। तीन साताअघि सुरू गरिएको अस्थायी मर्मत कार्य अन्तर्गत चौकीडाँडादेखि नेपालथोकसम्मका सडकखण्ड सुधार गरिँदैछ। बाढीले ठूलो क्षति पु-याएको रोशी क्षेत्रलाई विशेष प्राथमिकता दिई मर्मत कार्य भइरहेको जनाइएको छ।
हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत कार्य भइरहेको छ। इन्जिनियर योगेशका अनुसार बगर क्षेत्रमा गरिएको डाइभर्सन, सडक उचाइ बढाउन दुईदेखि तीन मिटर ग्राभेल भरिने, तथा जोखिमयुक्त स्थानमा जाली भरिने कार्य अघि बढाइएको छ।
धुलिखेल–नेपालथोक तथा नेपालथोक–खुर्कोट सडकखण्डको अस्थायी मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट कार्यान्वयनका लागि डिजाइन प्रक्रियामा रहेको तथा डिजाइन पूरा भएपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने डिभिजन कार्यालयले जनाएको छ। हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्वी क्षेत्रतर्फ जाने सवारी साधनले खोलाको बगरमा निर्माण गरिएको अस्थायी कच्ची सडक प्रयोग गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे