
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणालीलाई छिटो, सुरक्षित र भरपर्दो भुक्तानी प्रणालीको रूपमा प्रचार गर्दै यसको उपयोगबारे जनचेतना बढाउने प्रयास गरेको छ। RTGS प्रणालीले रकम स्थानान्तरण गर्दा कारोबारहरू वास्तविक समयमा प्रक्रिया गर्छ। यसको अर्थ, प्रत्येक कारोबार अलग-अलग रूपमा (ग्रस प्रणाली) सम्पन्न हुन्छ र कुनै पनि किसिमको समायोजन वा समूहिकरण हुँदैन।
यस प्रणालीमार्फत ग्राहकहरूले दुई लाख रुपैयाँ वा सोभन्दा बढी रकम सजिलै स्थानान्तरण गर्न सक्छन्। यो सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंकमा भुक्तानी विवरणसहितको फारम भर्नुपर्छ। त्यसपछि बैंकले सम्बन्धित खातामा रकम तुरुन्तै पठाउने व्यवस्था गरेको हुन्छ। यो प्रक्रिया छिटो र सरल भएकाले ढिलासुस्ती हुँदैन।
RTGS प्रणालीको मुख्य फाइदा छिटो, सुरक्षित र सुविधाजनक हुनु हो। ग्राहकहरूले रकम तुरुन्तै पठाउन सक्ने भएकाले यो प्रणाली प्रभावकारी मानिन्छ। साथै, यो भरपर्दो प्रणाली भएकाले ठगीको जोखिम निकै कम छ। सहभागी बैंकका कुनै पनि शाखाबाट यो सेवा लिन सकिने भएकाले यसको पहुँच पनि व्यापक रहेको छ।
नेपाल राष्ट्र बैंकले यो प्रणालीले रकम स्थानान्तरणमा देखिने ढिलासुस्ती हटाउन र ठगीको सम्भावना कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। बैंकले RTGS को प्रयोगलाई बढावा दिन सबैलाई यसको फाइदाबारे जानकारी गराउने प्रयास गरिरहेको छ।
थप जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np मा जान सकिन्छ। साथै, आर्थिक उपभोक्ता संरक्षण इकाइलाई ०१-५७१९६०५ मा सम्पर्क गरेर आवश्यक जानकारी लिन सकिन्छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे