
काठमाडौं – भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद प्रोत्साहन दिने निर्णय गरेको छ। साथै, उनका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ दिने घोषणा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सोमबार जानकारी दिँदै भने, “रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ। त्यस्तै, उहाँका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ।”
यसअघि, काठमाडौं महानगरपालिकाले पनि ढाँटलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो।
साउन १७ गते भारतको नोएडामा सम्पन्न फाइनल भिडन्तमा ढाँटले भारतका नम्बर वान फाइटर चेग्रोन कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै च्याम्पियन बनेका थिए। उनी ‘लक एन्ड रोल एमएमए नेपाल’ टिमबाट सहभागी भएका थिए।
ढाँट एसिया प्रशान्त क्षेत्रका शीर्ष २५० फाइटरहरूमध्ये पर्छन् भने उपक्षेत्रीय वरीयतामा समेत उनी समावेश छन्। उनको यो सफलता नेपाली एमएमए खेलको विकास र अन्तर्राष्ट्रिय पहिचानमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे