
काठमाण्डौ। बैंकको आन्तरिक अवस्था खस्किएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) न्यौपानेले पदबाट बाहिरिन खोजेको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार बैंकको कमजोर वित्तीय सूचक र आक्रामक व्यवसाय विस्तारको परिणामस्वरूप समस्या देखिन थालेको अवस्थामा, न्यौपानेको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले तत्काल स्वीकृति नदिएको बताइएको छ।
नेपाल राष्ट्र बैंकले पुरानो मिति कायम गरी खाता खोलेको आरोपमा बैंकका व्यवस्थापन अधिकारीहरू, तिनका परिवारका सदस्यहरू र सम्बद्ध संस्थाहरूलाई कारवाही गरेको छ। राष्ट्र बैंकको स्थलगत निरीक्षणले यो प्रकरण उजागर गरेको थियो, जसमा पुरानो मितिमा खाता खोलिएको र त्यसमार्फत ब्याजको फाइदा लिइएको पाइएको थियो।
उक्त प्रकरणमा संलग्न रहेको पाइएको व्यक्तिहरूमा सीईओ न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, निर्देशक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाई छन्। राष्ट्र बैंकले उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, दफा १०० (क) अन्तर्गत चेतावनी दिएको छ।
राष्ट्र बैंकले पुरानो मिति कायम गरी खोलिएका खाता सम्बन्धित ब्याज फिर्ता गराइसकेको छ। साथै, यस्ता कार्य दोहोरिन नदिन र बैंकको संस्थागत सुशासन सुधार गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले बैंक व्यवस्थापनबाट हुने यस्ता अनियमितताहरूले वित्तीय प्रणालीमा नकारात्मक असर पुर्याउने भएकाले, भविष्यमा यस्ता कार्यहरूको पुनरावृत्ति नगर्न कडा चेतावनी दिएको छ।
न्यौपाने सीईओ बनेपछि बैंकले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको थियो। तर, व्यवसाय विस्तारको क्रममा जथाभावी कर्जा प्रवाह हुँदा बैंकको वित्तीय सूचकहरू कमजोर भएका छन्। बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ९३ दशमलव शून्य ३ प्रतिशतले घटेको देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ को पुससम्म १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको छ भने खराब कर्जा दर पनि तीव्र रूपमा वृद्धि भएको छ। गत वर्ष १ दशमलव १९ प्रतिशत रहेको खराब कर्जा दर यस वर्ष ४ दशमलव ६१ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणले बैंकले नियम उल्लंघन गरेको पुष्टि गरेको छ। निरीक्षणको क्रममा बैंकले मुद्दती खातामा पुरानो मिति कायम गरी खाता खोल्ने, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन पालना नगर्ने, पूँजीकोष तथा जोखिमभार सम्बन्धी मापदण्ड नपुगेको, तथा ब्याजदर र संस्थागत सुशासनसम्बन्धी निर्देशनहरूको पालना नगरेको पाइएको छ।
यसका साथै, बैंकले अन्य क्षेत्रका कर्जालाई आवासीय कर्जा शीर्षकमा रूपान्तरण गरेको, लघुवित्तलाई ऋण दिएर भोलिपल्ट फिर्ता गर्ने र सेवा शुल्क लिने गरेको आरोपसमेत लागेको छ।
राष्ट्र बैंकले यी अनियमितताहरू सच्याउन र सुधारका लागि कार्ययोजना तयार गरी लागू गर्न निर्देशन दिएको छ। बैंकको नाफा घट्ने, खराब कर्जा दर बढ्ने, र लाभांश वितरण रोकिएको कारणले लगानीकर्ताहरू निराश भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे