
काठमाडौँ । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिटमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। उनलाई निलम्बन गर्ने निर्णयविरुद्ध पाण्डेले जेठ २५ गते अदालतमा रिट दायर गरेका थिए।
पाण्डेले महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।
गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेको नेतृत्वमा रहेको नगर प्रहरी टोलीले अवरोध गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। उक्त घटनापछि गुरागाईंले पाण्डेविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका थिए। महानगरपालिकाले घटनाबारे छानबिन गर्न प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको छ।
भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं उपप्रमुख सुनीता डंगोलको साथमा कार्यालयमा हाजिर हुन गएका थिए। तर, नगर प्रहरी बलले उनीहरूलाई कार्यालय प्रवेशमा अवरोध गरेको थियो। यसै घटनालाई लिएर हाल विवाद चर्किएको छ र कानुनी प्रक्रिया अघि बढाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे