
काठमाडौं। आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका विभिन्न जिल्लामा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू, मधेश, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको उल्लेख गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बुधबारदेखि शनिबारसम्म अपराह्नपख गण्डकीदेखि कोशी प्रदेशसम्म वर्षा हुने अनुमान गरिएको छ। उनले लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका जिल्लाहरूमा भने खासै वर्षाको सम्भावना नरहेको जानकारी दिएका छन्।
महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसँग मिसिएर असोज ११ र १२ गते भारी वर्षा हुँदा जनधनको ठूलो क्षति भएको पनि स्पष्ट पारेको छ। अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती, र गण्डकी प्रदेशमा केन्द्रित भए पनि हाल त्यो प्रणाली कमजोर हुँदै पूर्वतिर सर्दै गएको जनाइएको छ।
हाल पश्चिमी भूभागमा मौसम खुलेको र काठमाडौं उपत्यकामा पनि सोमबार बिहानदेखि घाम लागेको भए पनि अपराह्नपछि आंशिक बादल लाग्न सक्ने सम्भावना रहेको छ। मंगलबार अपराह्नपछि कोशी प्रदेशसहितका पूर्वी जिल्लाहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे