
काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार निक्षेप संकलन तथा कर्जा प्रवाहमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।
बैंकले जानकारी दिएको अनुसार अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर यस आर्थिक वर्षको सोही अवधिमा ६१.८९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कर्जा प्रवाह पनि ४५.९८ अर्ब रुपैयाँबाट वृद्धि भई ४९.४७ अर्ब रुपैयाँ पुगेको छ।
समिक्षा अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरिसकेको छ। कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत कायम भएको जनाएको छ भने बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रुपैयाँ रहेको थियो।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीए) ३.५५ प्रतिशतबाट बढेर ४.२७ प्रतिशत पुगेको छ। यद्यपि, कर्जा नोक्सानी व्यवस्थापनको अनुपात भने १०४.६४ प्रतिशत कायम भएको जनाइएको छ।
बैंकले ब्याजदरमा आएको उतारचढाव, बजार प्रतिस्पर्धा तथा साइबर सुरक्षाका चुनौतीहरूबीच पनि आफ्नो व्यवसायमा स्थिर वृद्धि गर्न सफल भएको दाबी गरेको छ।
गत साधारणसभाबाट पारित गरिएको अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरिएको पनि बैंकले जनाएको छ।
देशभर १३० शाखा सञ्चालनमा ल्याइसकेको बैंकले डिजिटल प्रविधिमा आधारित विविध वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे