
काठमाडौँ, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
उनलाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरू विमानस्थलमा पुगेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गरेका थिए। त्यस्तै रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गरेका थिए। उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उहाँका स्वकीयसचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा।बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे