
काठमाडौँ , पुस ७। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई र सम्मान जनाएका छन्। बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा, प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निभाउने जनकपुर बोल्ट्सका खेलाडी र क्याप्टेनलाई सम्मान गरे। शनिबार कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सका खेलाडीलाई बधाई दिँदै भने, “यो हाम्रो जीत हो, नेपालीको जीत हो। तपाईहरुका असाधारण क्षमता र संघर्षले यो उपलब्धि सम्भव बनायो।” उनले भविष्यमा अझ ठूलो सफलता हासिल गर्न खेलाडीलाई प्रेरित गर्दै, नेपाली खेलाडीहरूले पनि विश्वस्तरीय प्रदर्शन गर्न सक्षम हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा, क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारको सहयोगको कदर गर्दै विदेशका खेलाडीको श्रम स्वीकृति प्रक्रिया सहज बनाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा सरकारी सहजीकरणको आवश्यकता पूरा गर्ने विश्वास दिलाए। जनकपुर बोल्ट्सका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्रीसँग भेटी सम्मान पाउँदा खुशी व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे