
दैलेख, असार ६ । दैलेखमा ठूलो परिमाणमा भूमिगत प्राकृतिक ग्यास फेला परेको छ। खानी तथा भूगर्भ विभागका अनुसार चिनियाँ विज्ञ टोलीको प्रारम्भिक प्रतिवेदनले नेपालमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको देखाएको छ, जुन हालको खपतअनुसार ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ।
यो समाचारसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उक्त उपलब्धिमा सन्तोष व्यक्त गरेका छन्। उनले यो अन्वेषण आफ्नो कार्यकालमा सुरु गरिएको र अहिले त्यसको फल देखिएको बताएका छन्।
ओलीले फेसबुकमा लेखेका छन्: “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु। समर्थन र विरोध – आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।”
खानी तथा भूगर्भ विभागका अनुसार चिनियाँ भूगर्भविदहरूको सहयोगमा गरिएको प्रारम्भिक अध्ययनमा दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना पुष्टि भएको हो। भूगर्भ विभागका एक वरिष्ठ अधिकारीका अनुसार यदि सो ग्यास व्यावसायिक रूपमा उत्खनन गर्न सकिने खालको भयो भने यसले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति ल्याउनेछ।
नेपाल हाल हरेक वर्ष अरबौंको एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ। यदि दैलेखको ग्यास स्रोतबाट व्यावसायिक उत्पादन सम्भव भयो भने, यसले देशलाई ऊर्जा आत्मनिर्भर बनाउने सम्भावना देखिएको छ।
बिशेषज्ञहरू भन्छन्, “स्रोत फेला पार्नु मात्रै पर्याप्त हुँदैन, त्यसको व्यावसायिक उत्खनन, प्रसंस्करण, र वितरण प्रणाली विकासमा सरकारको स्पष्ट योजना र लगानी आवश्यक पर्छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे